सँगै पढ्ने साथी कोही शहर त कोही मुग्लान गए । बुबाआमाले मजदुरी गर्नुहुन्थ्यो । तर पनि खान लाउननै पुर्‍याउन सकिएन । केही समयपछि घुम्ती कोषबाट ऋण निकालेर बाख्रा पालन सुरु गरेँ, अहिले म यही व्यवसायमा रमाइरहेकी छु । अछामको बान्निगडी जयगढ गाउँपालिका–३ की २१ वर्षीया कमला तामाङले ३० हजारमा तीनवटा बाख्रा किनेर व्यवसाय सुरु गरेकी थिइन् अहिले उनीसँग ११ वटा बाख्रा छन् ।

‘एउटा बाख्राको १० देखि १६ हजारसम्म पर्छ । मैले यही व्यवसायमा फाइदा देखेकी छु,’ उनले भनिन्, ‘ ऋण लिएको पैसाले लगानी गरेँ, व्यवसाय पनि राम्रोसँग फस्टायो ।’

हाल उनी घर खर्च चलाउन, पढ्न र अन्य खर्च बाख्रा बेचेरै धान्दै आएकी छिन् । स्नातक तहमा अध्ययनरत कमला क्याम्पस जाने समय बाहेक अन्य समयमा आफ्नो व्यवसायमा व्यस्त देखिन्छन् ।

बान्निगडी जयगढको बसौटे टोलकी सुनिता ठकुल्लाले ऋण लिएरै जयगढ बजारमा सिलाइकटाई सेन्टर खोलेकी छिन् । स्थानीय सरस्वती उच्च माविमा कक्षा ११ मा अध्ययनरत उनले हरेक महिना कम्तिमा १५ हजार आम्दानी गर्ने गरेको बताइन् । ‘क्यम्पस खुल्ने समयमा पसल बन्द गरेर पढ्न जान्छु,’उनले भनिन्,‘अरु समय पसलमा काम गर्छु ।

२०७३ सालमा १५ हजारबाट व्यवसाय सुरु गरेकी उनले हाल सम्म तीन लाख भन्दा बढी लगानी पुर्‍याएको बताइन् ।

कमला र सुनिता जस्तै यहाँका अन्य ३५ युवाहरु सिप सिकेर बाख्रा पालन, सिलाइकटाई, फर्निचर, हाउस वाइरिङ, खाजापसल र कम्युटर मर्मत जस्ता व्यवसाय गरेर मनग्य आम्दानी गरिरहेका छन् ।

घुम्ती कोषले ऋण दिएर लगानीको वातावरण मिलाइदिएपछि बेरोजगार युवाहरुलाई व्यवसाय गर्न सजिलो भएको स्थानीय विकास सुपरिवेक्षक महादेव ओझाँले बताए । उनका अनुसार १३ देखि २२ वर्ष उमेर समुहका युवायुवतीहरु अहिले जयगढ, मुजाबगर, चौरपाटी लगायतका ठाउँमा आफ्नै व्यवसाय सञ्चालन गरेर आम्दानी गरिरहेका छन् ।

स्रोत:ध्रुव बीसी, नयाँ पत्रिका, मंसिर १९, २०७५
nayapatrikadaily.com/2018/12/05/121639/