अछाममा व्यवसायिक सुन्तला खेती किसानका लागि आम्दानीको प्रमुख स्रोत बनेको छ । सुन्तला बेचेर मनग्य आम्दानी गरिरहेका छन् ।
मंगलसेन नगरपालिका ११ खिमाडाकी झ्यापु भण्डारीले यस वर्ष एक लाख ६२ हजारको सुन्तला बचेको बताइन् । ‘यो वर्ष सुन्तलाबाट तीन लाख भन्दा बढी आम्दानी हुने अनुमान छ,’उनले भनिन्,‘ एक लाख ६२ हजारको बेचिसके, अझ दुई लाख जतिको बोटमै छ ।’

उनले बजारमा पाँच रुपैयाँ दानाका दरले सुन्तला बेच्ने गरिएको बताइन् । झ्यापु जस्तै उनको छिमेकी सरला रावल र सरस्वती भुललेपनि सुन्तला बेचेर राम्रो आम्दानी गरेका छन् । करिब ७० घरधुरी रहेको खिमाडामा व्यवसायीक रुपमा सुन्तला खेती हुँदै आएकाे छ ।

सुन्तला खेतीमा महिलाहरुकाे प्रमुख भुमिका छ । ‘श्रीमानले कमाएर खासै बचाउँदैनन्,’ रावलले भनिन्,‘सुन्तला बेचेर घर चलेको छ । यही पैसाले छोराछोरी पढाउने खर्च निकालेकी छु ।’

खिमाडाका महिलामात्र नभई मंगलसेनका महिलाहरु पनि व्यसायीक रुपमा गरेको सुन्तला खेतीबाट आम्दानी गर्दै छन् । पुरुषहरु अन्य काममा बाहिर रहने भएकाले सुन्तलाको व्यापारमा महिलाहरु नै बढी संलग्न हुने गरेको तुर्माखादकी कलसी बुढाले बताइन् ।

सुन्तला बारीको रेखदेख, मलजल, पुराना बोटको उपचार, झारपात व्यवस्थापनदेखि बजारसम्म पुर्‍याएर बेच्नेमा महिलानै सक्रिय हुने गरेको बताइन् ।

आफ्नै प्रयासमा सुन्तला खेती गरिरहेका महिलाहरुको लागि यो वर्ष कुनैपनि योगदान गर्न नसकिएको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख विष्णुहरी देवकोटाले बताए । ‘पहिले सुन्तला किसानकै लागि भनेर धेरै काम गरियो,’उनले भने,‘संघिय संरचनाका कारण यो वर्ष केही गर्न सकिएन ।’ कृषिजन्य वस्तुको उत्पान बारे प्रभावकारी क्रियाकलाप गर्न नसक्दा सुन्तला किसानलाई समस्या भइरहेको उनले बताए ।

स्रोत:ध्रुव बीसी, नयाँ पत्रिका, मङि्सर १३, २०७५
nayapatrikadaily.com/2018/11/29/119475/