कन्ये च्याउ सँगै सिताके च्याउ पनि उत्पादन
बागलुङ, ७ मंसिर– कमाई गर्न बिदेश जानुपर्छ भन्ने मान्यता तोडेर बागलुङको बडिगाडका एक युवाले घरमै मनग्ये कमाई गरेर देखाएका छन् । मेहेनत गरेमा ग्रामीण क्षेत्रमा बसेर पनि मनग्ये कमाई गर्न सकिन्छ भन्ने उनको उदाहरण हो । बडिगाड गाउँपालिका २ का मनोज गैह्रेले कृषि र पशुपालनबाटै राम्रो आम्दानी लिन सफल भएका हुन् । शुरुमा खरवाङ बजारमा जग्गा भाडामा लिएर च्याउ खेती गरेका थिए । कन्ये जातको च्याउ लगाएर कमाई गरेपछि उनले घरैमा बसेर काम गर्ने चाहना बनाए । आफ्नै बारीमा सिंचाई सुविधा थपेर उनले कन्ये च्याउ सँगै सिताके च्याउ पनि उत्पादन थालेका छन् । कन्ये च्याउ प्रति केजी दुई सय रुपैयाँमा विक्रि गरेपनि सिताके च्याउ भने ७ सय देखि ८ सय रुपैयाँ पार्ने गरेका छन् ।
शुरुमा ३५ वटा मुढामा लगाएको च्याउ बढाएर उनले १० हजार पु¥याउने लक्ष राखेका छन् । बजार खोज्न जानै नपर्ने, घरबाटै सहजै विक्रि हुने र धेरैले मन पराउने भएकोले सिताके च्याउमा लागेको उनले बताए । ‘भैसी र बाख्रा पालेर मल उत्पादन गर्ने र आफ्नै बारीमा व्यवसायिक खेती उत्पादन थालेको हूँ’ उनले भने, ‘यो पेशाले घरपरिवार चलाएर ५ सन्तानलाई पढाउन पनि सकेको छु ।’ मजदुरी गरेर परिवार पाल्न सास्ती खेपेका उनले कृषिबाट समृद्धीमा लागेको बताए । उनले भुई स्याउ, अन्य ताजा तरकारी र साग समेत लगाएका छन् । खरवाङ र वडिगाड गाउँपालिकामा सहजै विक्रि भएपछि उनले कृषिमा लगानी बढाउने योजना बनाएको बताए । परंपरागत पद्दतीको मौरी पालेर पनि उनले कमाई गरेका छन् । ‘लोकल मह खोज्नेहरु धेरै भएकोले मैले आधुनिक घारमा पालेका छैन’ उनले भने, ‘अर्गानिक उत्पादनबाट राम्रँे कमाई समेत भएको उनले बताए ।’ स्थानीय महलाई प्रति केजी एक हजार रुपैयाँ सम्म पार्न सकेको उनले बताए । उनले सबै उत्पादनबाट बार्षिक ४ लाख रुपैयाँ सम्म कमाएको बताए ।

उनको मेहेनत देखेर छिमेकी युवाले पनि काम गर्न थालेका छन् । ‘काम नगरी सुख छैन, तर युवाहरुले चासो राख्दा सहयोग पनि गरेको छु’ गैह्रेले भने, ‘व्यवसायिक उत्पादन बढाउन गाउँपालिकाले सहयोग गरिदिए राम्रो हुन्थ्यो ।’ कृषि प्राविधिक अभाव, जिल्ला तहका विज्ञ नभएपछि किसानले कृषि फसलको उपचार गराउन नपाएको गुनासो गरेका छन् । ‘समयमा बीउ नपाउने, रोग किरा लाग्दा उपचार नहुने समस्या छ’ स्थानीय देवु नेपालीले भनिन्, ‘प्राविधिक सहयोग पाएमा घरघरमा व्यवसायिक किसान बनेर काम गर्न चाहने धेरै छन् ।’ लामो समय सम्म कृषि प्राविधिक अभावमा ग्रामीण क्षेत्रका किसानले समस्या भोगेको बागबानी अधिकृत सुजितकुमार पौडेलले बताए । गाउँपालिकाले प्राविधिक ल्याएर किसानको समस्या समाधान गर्ने अध्यक्ष मेयरसिंह पाईजाले बताए ।

स्रोत: जनमञ्च, ७ मंसिर
janamanch.com/2018/11/23/39325/