भरतपुर । सीमान्तकृत समुदायभित्र पर्ने तीन चेपाङ युवा कुखुरापालन व्यवसायबाट आत्मनिर्भर बन्ने प्रयासमा लागेका छन् ।

शक्तिखोरस्थित सरकारी छात्रावासमा बसेर चतुर्मुखी माविबाट एसएलसी दिएका कालिका नगरपालिका १०, सिद्धिका झलकमान चेपाङ, इच्छाकामना गाउँपालिका १, काउलेका रेशम चेपाङ र विवेक चेपाङले भरतपुर महानगरपालिका, मंगलपुरमा पोल्ट्री फार्म सञ्चालन गरी आत्मनिर्भर बन्ने प्रयासमा जुटेका हुन् ।

यो अवसर जुटाइदिएका हुन् रत्ननगर–१० स्थित गामबेसीको चेपाङ संरक्षण केन्द्रका केपीकिरण शर्माले । तीन जनाका लागि उनले ऋण खोजेर लगानी गरिदिएका हुन् । जुनसुकै अभिभावकले पनि आफ्नो सन्तानलाई जन्माएर हुर्काउँदैमा उसको जिम्मेवारी पूरा हुँदैन, भविष्यको बाटोसमेत देखाउन सक्नुपर्छ । तर, शर्मा भने आफूले नजन्माएका सन्तानलाई भविष्य देखाउने प्रयास गरिरहेका छन् ।

सीमान्तकृत समुदायभित्र पर्ने चेपाङ समुदायका बालबालिकालाई आवासीय सुविधासहित पढाउँदै आएका शर्मालाई दिनानुदिन जिम्मेवारी थपिँदै गएको छ । फुर्सदमा तिनै चेपाङ बालबालिकाको भविष्यबारे सोचिरहने शर्माले केही दिनअघिमात्रै ती चेपाङ युवाहरुलाई सफल भविष्यको बाटो देखाउने सुर गरेका हुन् । परिवारको स्थिति कमजोर रहेकाले शर्माले उनीहरुको अभिभावकत्व निभाउने प्रयास गरेका हुन् ।

अहिले उनीहरुले एक हजार पाँच सय चल्ला हालेका छन् । चेपाङ युवाहरुका लागि भने ठूलो अवसर प्राप्त भएको छ । ‘पढाइ सकेर रिजल्टको पर्खाइमा छौँ’, रेशम चेपाङले भने, ‘गाउँ फर्किएर काम छैन भनेर केपी बुबाले यतातिर हात हाल्ने बाटो देखाइदिनुभयो, हाम्रो लागि यो अवसर र चुनौती पनि हो ।’

पशु चिकित्सक बन्ने योजनामा रहेका तीनै जनाका लागि पढाइअनुसारकै काम भएकोले पहिलो प्रयास भए पनि सफल हुनेमा उनीहरु ढुक्क छन् । ‘हाम्रो पढाइअनुसारको काम भएकोले समस्या नहोला’, विवेक चेपाङ भन्छन्, ‘पहिलो प्रयास सफल भएमा यसैबाट लगानी बढाउने योजनामा छौँ ।’

वर्षमा आधा सहकाल र आधा अनिकालको सामना गर्दै आएका चेपाङ समुदायबाट अध्ययनअनुसारको काम सफल भएमा यसले समाजमा समेत सकारात्मक सन्देश दिने चेपाङ केन्द्रका अध्यक्ष शर्माको भनाइ छ ।

स्रोत:तुलमान गुरूङ, चितवन पोष्ट, मंसिर ५, २०७५
echitwanpost.com/76036/