कालिका । गाई पालेर टाट फर्किएपछि कालिका नगरपालिका वडा नं २ पदमपुरका गणेशप्रसाद ढुंगानाले पछिल्लोपटक सुरू गरेको गाईपालनबाट आश्चर्यजनक सफलता हासिल गरेका छन् । ढुंगानाको गोठमा अहिले ९ वटा ठूला गाई छन् । ९ वटा गाईले दिएको दूध बेचेर उनले मासिक ७० हजार रूपैयाँ कमाएका छन् ।

‘मासिक आम्दानी १ लाख ३० हजार हुन्छ’, उनले भने, खर्च कटाएर मासिक ७० हजार कमाउँछु ।’ अहिले उनको ऋण छैन ।

गाईपालनबाट कमाएको पैसाले छोराछोरीलाई उच्च शिक्षा पढाउन उनी सफल भए । पदमपुर स्थानान्तरण भएर राप्तीपारिबाट आएका ढुंगानाले गाईपालनबाट कमाएको पैसाले पक्की घर बनाएका छन् । ‘जीवनयापनमा सहजता भएको छ’, उनले भने, ‘पैसाको अभाव छैन, अहिले जुन काम गर्न पनि आँट आउँछ । उनको गोठबाट अहिले दैनिक ७० लिटर दूध उत्पादन हुने गरेको छ ।

८ वर्षअघि गाईपालनबाट ऋण लागेपछि उनी मुग्लान पसे । उतिबेला २० वटा गाई पालेका ढुंगानालाई १५ लाख रूपैयाँ ऋण लाग्यो । कमाउन भनी सुरू गरेको व्यावसायिक गाईपालनबाट टाट पल्टिएपछि २०६७ सालमा उनी भारत गए । गाईमा लाग्ने रोग, मिल्क होलिडे र दूधको उचित मूल्य नभएका कारण उनले गाईपालनबाट घाटा व्यहोर्न बाध्य भएका हुन् ।

‘गाई पाल्दापाल्दै १५ लाख रूपैयाँ ऋण लाग्यो’, उनले भने, ‘अनि गोठमा भएका सबै गाई बेचेर मुग्लान छिरेको हुँ ।’ २०६७ सालदेखि २०७१ सालसम्म भारतमा काम गरेर ऋण तिर्दै गए । त्यसपछि नेपाल फर्किएर उनले २०७२ सालबाट फेरि व्यावसायिकरुपमा गाईपालन सुरू गरे । अहिले गोठमा रहेका गाईको दूध बेचेर उनले पुरानो ऋणसमेत तिरे ।

सोही नगरपालिका वडा नं ६, जमुनापुरका तेजप्रसाद अम्गाईंले विदेशबाट फर्किएर व्यावसायिकरुपमा गाईपालन सुरू गरेका छन् । पाँच वर्ष कतार र २ वर्ष साउदी अरबमा कठोर काम गर्दा कमाउन नसकेको पैसा अम्गाईंले दुई वर्षअघिबाट सुरू गरेको गाईपालनबाट कमाउन सफल भएका छन् । उनको गोठमा अहिले १० वटा गाई छन् । उनको गोठमा दैनिक ८० लिटर दूध उत्पादन हुन्छ । उनले मासिक ४० हजारसम्म कमाउने गरेका छन् ।

‘मासिक आम्दानी एक लाख हुन्छ’, उनले भने, ‘खर्च कटाएर ३५ देखि ४० हजार रूपैयाँ कमाउँछु । विदेशमा कठोर काम गर्दा पनि पैसा कमाउन नसकेपछि स्वदेश फर्केर गाई पाल्न सुरू गरेको हुँ ।’ उनले अर्काको भूमिमा पसिना बगाउन विदेश नजाने अठोट गरेका छन् । ‘काम गर्न सके स्वदेशमै मालामाल कमाइँदो रहेछ’, उनले भने, ‘अब किन विदेश जानुप¥यो ।’

त्यस्तै, कालिका ४, पदमपुरमा स्थानीय नारायण गिरी र केशरबहादुर बस्नेतले व्यावसायिकरुपमा भैँसीपालन सुरू गरेका छन् । ५० लाखको लगानीमा सुरू गरिएको उनीहरुको पशुपालन फर्ममा २१ वटा माउ भैँसी छन् । ‘स्थानीय जातका भैँसीको संरक्षणका लागि भैँसीपालन सुरू गरेका हौँ’, गिरीले भने, ‘अहिले आम्दानी र खर्च बराबरको अवस्थामा छ ।’ उनको फर्ममा दैनिक १३० लिटर दूध उत्पादन हुन्छ । ‘भैँसीको दूध डेरीमा लैजान पर्दैन, भरतपुर र गाउँमै दूध बिक्री हुन्छ’, उनले भने, ‘बजारको समस्या छैन ।’

कालिका नगरपालिकामा २२ वटा गाई फर्म रहेका छन् । यहाँका करिब ११ सय किसानले पशुपालन गर्दैै आएका छन् ।

व्यावसासिकरुपमा पशुपालन गर्दैै आएका किसानहरुलाई नगरपालिकाले काउ म्याट, घाँसको बीउमा अनुदान, गोठ सुधार र उत्कृष्ट किसानलाई वार्षिकरुपमा पुरस्कृत गर्दैै आएको सामाजिक विकास समितिका संयोजक विनोद रेग्मीले बताए । कालिका नगरमा दैनिक ९ हजार ३७१ तथा वार्षिक ३३ लाख ७३ हजार ५६० लिटर दूध उत्पादन हुन्छ ।

नगरभित्रका अधिकांश किसानलाई व्यावसायिक बनाएर दूध उत्पादन वृद्धि गर्ने योजनासहित काम भइरहेको मेयर खुमनारायण श्रेष्ठले बताए । सो नगरपालिकाले एक महिनाअघि नगरभित्रका १२ जना उत्कृष्ट किसानलाई जनही २५ हजारका दरले पुरस्कार वितरण गरेको थियो ।

नगरपालिकाले सुत्केरी पशुको सुरक्षाका लागि काउ म्याट खरिद गर्न एक लाख रूपैयाँसम्म अनुदान दिएको मेयर श्रेष्ठले बताए ।

स्रोत:होमनाथ सापकोटा, चितवन पोष्ट, मंसिर ४, २०७५
echitwanpost.com/76022/