स्याङ्जा — पाकेर पँहेलपुर हुन थालेपछि स्याङ्जाका विभिन्न स्थानमा कृषक सुन्तला टिप्न व्यस्त भएका छन् । खरिदका लागि व्यापारी घरदैलोमै आउने भएपछि किसानको व्यस्तता बढेको हो ।

कतिपय कृषक भने आफैं बजार पुर्‍याउन थालेका छन् । ‘आफैंले बेच्दा राम्रै दाम आउँछ, उपभोक्ताले पनि सस्तोमा पाउँछन्,’ बिरुवा गाउँपालिका–८ का शिव वाग्लेले भने, ‘अब टिप्न र बेच्न सुरु भयो ।’ वाग्ले शुक्रबार र शनिबार दिनभर सुन्तला टिपेर बेच्न व्यस्त रहे । व्यापारीले प्रतिकिलो ६० देखि ९० रुपैयाँसम्म लिइरहेको सुन्तालामा फलाउने किसानले बढीमा ४०/४५ रुपैयाँमा चित्त बुझाउनुपर्ने अवस्था रहेको उनले गुनासो गरे ।

‘अहिलेसम्म ९ क्विन्टल जति बेचियो,’ उनले भने, ‘दरभाउ निर्धारण भइदिए बजार सजिलो हुने थियो ।’ आफूले लगाएका नयाँ पुराना करिब तीन सय बोट रहेको उनले बताए ।

बिरुवाकै तारेन्द्र केसी पनि सुन्तलाले व्यस्तता बढाएको बताउँछन् । घरमा खेताला लगाएर सुन्तला टिप्ने र गाडी रिजर्भ गरेर पोखरा पुर्‍याउने गरेको उनले बताए । ‘ठेकेदारहरू ३० रुपैयाँ प्रतिकिलो दिन्छौं भन्दै घरमा नआएका होइनन्,’ उनले भने, ‘त्यति सस्तोमा सुन्तला दिन सकेनौं ।

गाउँमा सरसल्लाह गर्‍यौं र बेच्नका लागि पोखरा लग्ने गरेका छौं ।’ उनले पोखरामा पनि प्रतिकिलो ४५ रुपैयाँ मूल्य पाएको बताए । ठेकेदारलाई पुरै बगान दिने हो भने किसानले आफैं खेताला खोज्न, टिपाउन र गाडीसँगै बिक्रीका लागि भौंतारिनु नपर्ने उनी बताउँछन् ।

‘आफ्नै हातले टिपे बोट सुरक्षित हुन्छ,’ उनले भने, ‘बेच्न लाँदा भाउ पनि पाइन्छ ।’ बर्सेनिफल दिने बोटको संरक्षणमा पनि उत्तिकै जिम्मेवार हुनुपर्ने उनले बताए । लामो समयदेखि सुन्तला खेती गरेका कृषकले अझै पनि उचित मूल्य पाउन नसकेको गुनासो गर्छन् ।

बिरुवा ८ का डिलबहादुर केसी भन्छन्, ‘सुन्तलामा गरेको दु:ख र लगानीबाट कहिल्यै चित्तबुझ्दो मूल्य पाइएन,’ उनले भने,‘भाउ पाउने लोभले पोखरासम्म पुग्यौं पनि ।थोक व्यापारीले हामीलाई थोरै दिन्छन्, खुद्रा किन्नेसँग कसेर असुल्छन् ।’ सुन्तला राख्नका लागि जिल्लामा शीतभण्डार स्थापना हुन सके भाउ पाउने बेलामा बेच्न सजिलो हुने उनले बताए ।

आँधीखोला गाउँपालिका–४ विचारीचौतारका सुवास पौडेल सुन्तालाले आम्दानी दिन थालेको बताउँछन् । ‘सुन्तलालाई समय दिने भनेको वर्षमा तीन/चारपटक हो,’ उनले भने, ‘अरू व्यवसाय जस्तो सुन्तला त्यति गाह्रो छैन । बिक्री गर्ने बेला अलिकति समय निकाल्नुपर्छ ।’

पुतलीबजारको करेन्डाँडामा सुन्तला खेती गरेका उनले ठेकेदारलाई बगान नै बिक्री गर्ने योजना रहेको बताए । ‘ठेकेदारलाई एकमुष्ठ सुन्तला बेचेपछि अरू तनाव लिनुपर्दैन,’ उनले भने, ‘आफ्नो भाउ आउनेगरी दिँदा किसानलाई मर्का पर्दैन ।’

स्रोत:कान्तिपुर, मंसिर २, २०७५
kantipurdaily.com/pradesh-4/2018/11/18/15425204599666720.html