दिपायल : डाेटी जोरायल गाउँपालिका २ छतिवनकी किसान गंगादेवी ओलीले बोयर जातका बोका पालेको दुई वर्ष भयो। नौ वटा प्रजनन उमेर समूहका बोयर बोका पाठी बिक्री गरी उनले दुई लाख १८ हजार आम्दानी गरेकी छन्।

बाख्रापालक किसानको उत्पादकत्व बढाई आय आर्जनमा वृद्धि गर्दै मासुजन्य पदार्थको पहुँच र उपलब्धतामा सुधार ल्याउने उद्देश्यले जोरायल गाउँपालिकाले विभिन्न वडामा ‘मासुजन्य प्रजनन समूह’ गठन गरेको छ। अस्ट्रेलियाबाट आयातित बोयर जातका बोका वितरण गरिएको जोरायल गाउँपालिकाका पशु सेवा शाखा प्रमुख मानबहादुर रानाले जानकारी दिए।

हालसम्म जिल्लाबाट दुई सय ५० भन्दा बढी बोयर जातका क्रस गरिएका बोका कैलाली, कञ्चनपुर, अछाम, दार्चुला र बैतडी जिल्लामा वितरण भइसकेको रानाले बताए। उनले भने, ‘डोटीका एक सय किसानबाट यसै वर्ष ७५ लाख मूल्य बराबरका क्रस बोयर बोका खरिद भएका छन्।’

स्थानीय जातका खसीबोकाको तुलनामा यो छिटो बढ्ने भएकाले पनि पहाडी जिल्लामा बोयर जातको बोकाको माग अत्यधिक बढेको राना बताउँछन्। ‘छ महिनामा झण्डै २८ किलो तौल पुग्ने गर्छ’, रानाले भने। ‘किसानबाट जिल्ला पशुसेवा शाखाले नै प्रजनन बोका जिउँदो आठ सय प्रतिकिलोका दरले खरिद गरी जिल्लाभित्रका अन्य किसान तथा जिल्ला बाहिर पठाउने व्यवस्थासमेत गरेको छ।

गाउँपालिका–२ छतिवनस्थित रुवस एकीकृत बाख्रापालन समूहका सदस्य भविसरा सारूले नौ महिनामै ६६ किलो तौल भएको र ५२ हजार आठ सयमा बिक्री गरेको बताइन्। उनले भनिन्, ‘सुधारिएको तरिकाबाट बोयर बोका पाल्दा राम्रै हुने गर्छ। अझ पशुसेवा कार्यालयले नै खरिद गरिदिने भएकाले बजारको लागि समेत भौंतारिनु पर्दैन।’ गत आर्थिक वर्षमा मात्रै उक्त समूहले बोयर बोका र बाख्रा बिक्री गरी ३० लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ।

यसै वर्ष जोरायल गाउँपालिका–४ लक्ष्मीनगरस्थित थलीमा बाख्रापालन केन्द्र स्थापना गरी गाउँपालिकाको ६ लाख रकमको सहयोगमा २७ वटा बोयर जातका बाख्रा तथा ३ वटा बोका वितरण गरिएको छ। त्यसैगरी करिब ५० वटा बाख्रा र एक÷एक वटा बोका किसानलाई वितरण गरिएको छ। साथै १० जना किसानलाई ५० हजारका दरले खोरसुधारको रकम प्रदान गरिएको छ। सोही शाखाबाट गाउँपालिकाभित्रका २० जना एकल महिला तथा विपन्न प्रतिपरिवारलाई दुई/दुई वटा बाख्रा खरिदका लागि १५ हजारका दरले रकम वितरणसमेत गरिएको शाखा प्रमुख रानाले बताए।

बाख्रापालन समूहमा ‘बाख्रापालन कृषक पाठशाला’समेत सञ्चालन गरिएको पशुसेवा शाखाले जानकारी दिएको छ। बाख्रापालनको उत्पादन बढाउँदै पशुजन्य खाद्य तथा पोषणमा सुरक्षा ल्याई आयआर्जन वृद्धि गर्ने उद्देश्य पाठशालाको छ। प्रमुख रानाले भने, ‘कृषक पाठशालामार्फत १५ महिनासम्म बाख्रापालन कृषकलाई उनीहरूकै घर तथा खोरमा बाख्रापालनसमन्धी सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिई बाख्राको पर्यावरणीय प्रणाली विश्लेषण अध्ययनसमेत गराइने छ।’

स्रोत:खगेन्द्रबहादुर सिंह, अन्नपूर्ण पोस्ट, १२ कार्तिक २०७५
annapurnapost.com/news/111608