शिवसताक्षी नगरपालिका–११ की देवीकुमारी ओली दाहाल हाल ४९ वर्षकी भइन् । १४ वर्ष अघिदेखि मौरीपालन गर्दै आएकी देवीकुमारी हाल नेपाल मौरीपालक महासंघकी उपाध्यक्ष र शिवसताक्षीस्थित सतासी महिला मौरीपालन सहकारी संस्थाको व्यवस्थापक रहेकी छिन् ।

देवीकुमारीको १४ वर्षअघि ५ कट्ठा ऐलानी जमिन मात्र थियो । उनको दैनिकी बिहानदेखि बेलुकैसम्म अरुको खेतमा ज्याला मजदुरी गरेर बित्थ्यो । त्यतीकैमा उनलाई दुई छोराछोरी पढाउन गाह्रो भपछि विदेश जाने निर्णय लिइन् ।

खाडी मुलुकमा पैसा कमाउने सपना बोकेर पासपोर्ट बनाउन घरबाट हिँडेकी देवीकुमारीको जीवनमा मौरीले ठूलो परिवर्तन ल्याइदियो । उनले २०६१ सालमा अर्जुनधारा नगरपालिकाबाट एक गोला मौरी ल्याएर पाल्न सुरु गरिन् ।

सुरुमा प्राविधिक शिप केही नजानेकी उनलाई मौरी पालनमा निकै समस्या परेको थियो । मौरीलाई हेरचाह गर्न नजान्दा निकै मर्थे । समूहबाट लिएको ४० हजार रुपैयाँ ऋण तिर्न नसक्दा उनको डिभोर्स नै हुने स्थिति पुग्यो ।

सहारा नेपाल सहकारीले १० घार मौरीपालनको तालिम उनले अरु ऋण लिएर व्यावसायीक मौरी पाल्न सुरु गरिन् । केही महिनाको मेहनतपछि उनले मह बेचेर ५८ हजार रुपैयाँ कमाइन् । ‘पहिलो पटक मह काड्ने बेलामा मैले श्रीमानलाई पनि सँगै लिएर गएँ,’ देवकुमारीले भनिन्, ‘सबै मह काडेकै ठाउँमा बिक्यो, त्यस दिनदेखि श्रीमान पनि सकारात्मक हुनुभयो ।’ देवीकुमारीले गत वर्ष मात्र मह बेचेरै मात्र १६ लाख ६४ हजार आम्दानी गरेकी छिन् । त्यसैबाट केही जमिन जोडेकी छिन् । घरमा दुईवटा यातायातका साधन पनि छन् ।

हाल मासिक रुपमा दुई लाख रुपैयाँसम्म आर्जन गरिरहेकी देवीकुमारीका घर वरिपरि एक सय ५० गोला मौरी छन् ।

देवीकुमारीलाई राष्ट्रिय कृषि अनुसन्धान परिषदले देशकै उत्कृष्ट कृषि उद्यमीको रुपमा खुमलटारमा राष्ट्रिय धान दिवसको अवसरमा नगद एक लाख रुपैयाँसहित ‘राष्ट्रपति कृषक पुरस्कार’ समेत प्रदान गरिसकेको छ । शिवसताक्षीमा उनकै अग्रसरतामा ०६३ सालमा सतासी महिला मौरीपालन सहकारी संस्था स्थापना भएको छ । सहकारीका सबै सदस्यले सफल मौरीपालन व्यवसाय गरिरहेका छन् । देवीकुमारीकै अग्रसरतामा एक सय ७४ जनाले रोजगारी पाएका छन् ।

देवीकुमारीका अनुसार हाल झापामा मैरी चरनको समस्या छ । चरनको अभाव भएकै कारण उनी मौरीलाई मोरङ, सुनसरी, चितवन हुँदै दाङसम्म पु¥याउँछिन् । ‘पैसा तिरेर अरुको खेत जोताएर मौरी राखेका पनि छौँ,’ उनले भनिन् ।

स्रोत:लक्ष्मी काफ्ले, नयाँ पत्रिका, कार्तिक १७, २०७५
nayapatrikadaily.com/2018/11/03/111275/