तेह्रथुम : फेदाप ओयाक्जुङका जोगी महिलाले अकबरे खुर्सानी खेती गरेर आम्दानी गर्न थालेका छन्। स्थानीय करुणा जोगीले आफ्नो बारी नभएपछि भाडामा लिएर चार वर्षदेखि खेती गर्दै आएको बताइन्। ‘यसबाट आएको पैसाले घरव्यवहार चलाउँछु’, उनले भनिन्, ‘समूहमा मासिक बचतसमेत गर्छु।’

यो समुदायका पुरुषले फेरी लगाएर ल्याएको चामल, पैसाले खर्च धान्दै आएका छन्। ओयाक्जुङमा २ सय घरपरिवार जोगी समुदायको बसोबास छ। अकबरे खरिदका लागि व्यापारी बारीमै आउने गरेका छन्। खुर्सानी बेचेको पैसाले खान, लाउन सजिलो भएको बालकुमारी जोगीले सुनाइन्। ‘ श्रीमानले फेरी लगाएर ल्याएभन्दा तेब्बर मैले खुर्सानीबाट कमाउँछु’, उनले भनिन्, ‘यहाँ अकबरे खेती नगर्ने महिला नै छैनन्।’

यहाँको उत्पादन कोसेलीका रूपमा धरान, धनकुटा, विराटनगरसम्म लगिने गरेको छ। प्रतिकिलो ३ सयदेखि ४ सय रुपैयाँसम्ममा किनबेच भइरहेको छ। निशा जोगीले १ लाख आम्दानी गर्ने लक्ष्य रहेको सुनाइन्। उनले गत वर्ष ५० हजार रुपैयाँको अकबरे बेचेकी थिइन्।

समूह गठन गरी व्यावसायिक रूपमा खुर्सानी खेती सुरुआत गराइएको देउराली सोसाइटीले जनाएको छ। स्थानीयको जीविकोपार्जन सहज हुन थालेको सोसाइटीका कार्यक्रम संयोजक नरबहादुर लिम्बूले सुनाए। ‘सुरुमा हामीले अनुदान दिएर खेती गर्न लगायौं’, उनले भने, ‘उनीहरू आत्मनिर्भर भएका छन्।’

जिल्लाका जलजले, मोराहाङ, आम्बुङ, साब्ला, जिरीखिम्ती, सोल्मा, म्याङलुङ, सुङनामलगायत क्षेत्रमा पनि अकबरे खेती हँुदै आएको छ। गत ४ करोड रुपैयाँबराबरको निर्यात भएको कृषि विकास कार्यालयले जनाएको छ।

स्रोत:टीआर लिम्बू, अन्नपूर्ण पोस्ट, १८ कार्तिक २०७५
annapurnapost.com/news/112118