रौतामाइ (उदयपुर) — ‘ज्ञान बाँड्न पढ्नु पर्दैन रहेछ,’ रौतामाई गाउँपालिका ४ सल्ले बजारका ४८ वर्षीय टेकबहादुर पाठकले भने, ‘अनुभव र सीप भए पुग्दोरहेछ ।’ आफूले नपढे पनि ५ हजारभन्दा बढी किसानलाई खेती किसानीको अनुभव बाँडिसकेका पाठकको यो भनाइ पत्यारलाग्दो छ ।

सानैदेखि खेती किसानी गरेकाले उनले धेरै जानकारी हासिल गरिसकेका छन् । विशेष गरेर सुन्तला खेतीमा उनले दक्षता हासिल गरेका छन् । सुन्तलाको नर्सदेखि खेती प्रविधिका सबैजसो पक्षबारे उनी जानकार छन् । पाठकको सल्ले बजरमा ठूलो नर्सरी छ ।

उनको नर्सरीमा जिल्लाका सबैजसो भागका मात्र नभई छिमेकी जिल्ला खोटाङका बासिन्दासमेत जानकारी लिन आउँछन् । १५ रोपनी क्षेत्रफलमा उनले गरेको नर्सरीबाट हजारौं किसानलाई बिरुवा वितरण गरिसकेका छन् । १५ रोपनी जग्गामा फलफूलको नर्सरी गरिरहेका उनले स्याउ, नस्पाती, कागती, करेला, बरेला, टमाटर र धनीया खेती गरेका छन् ।

सुन्तलाले आम्दानी ढिलो दिने भएकाले खर्च धान्नका लागि पनि टमाटर, काउली, धनिया, चुच्चेकरेलासँगै धनिया खेती गरेको उनले बताए । ८ रोपनीबाट खेती सुरु गरेका पाठकको अहिले १५ रोपनी क्षेत्रफलमा विभिन्न जातका फलफूल खेतीसँगै नर्सरी छ । ‘खेती सुरु गरेको ३/४ वर्षसम्म आम्दानी हँुदैन थियो,’ पाठकले भने, ‘तर ५ वर्षयता भने वार्षिक करिब ५ लाख रुपैयाँ आम्दानी हँुदै आएको छ ।’ अबको वर्षदेखि वार्षिक ७ लाखभन्दा बढी आम्दानी हुने लक्ष्य राखेको उनले बताए । रौतामाईको आँपटार र पोखरी सुन्तला उत्पादनका लागि राम्रो क्षेत्र मानिन्छ । त्यसैले पनि अहिले पाठकले सुन्तालको नर्सरीलाई प्राथमिकतमा राखेका छन् ।

फलफूलभन्दा नर्सरीबाट आम्दानी बढी हुने भएकाले सुन्तलाको नर्सरी सुरु गरेको उनले बताए । पाठकको नर्सरीमा अहिले ३० हजारभन्दा बढी सुन्तालको रोप्न सकिने बिरुवा तयार छन् । प्रतिगोटा १५ रुपैयाँका दरले बिक्री गरिने सुन्तलाको बिरुवाबाट ५ लाख रुपैयाँ आम्दानी हुने पाठकको अनुमान छ । पाठकको नर्सरीमा सुन्तलासँगै कागती, रुद्राक्ष, विभिन्न जातका घाँस र अन्य फलफूलका बिरुवासमेत छन् । ‘सुरुसुरुमा बिरुवा उत्पादनसमेत गर्न आउँदैन थियो,’ पाठकले भने, ‘तर सामन्य तालिम लिए पनि अहिले बिरुवा उत्पादनमात्रै होइन, सुन्तलाको बोटमा कागती, कागतीको बोटमा सुन्तला वा दुवै एउटै बोटमा समेत फलाउन सक्छु ।’

फलफूल खेती गरेर दीर्घकालीन रूपमा आर्थिक उपार्जन गर्न सकिन्छ भन्ने विश्वासले खेती गरेको पाठकले बताए । ‘दिगो आर्थिक विकासका लागि फलफूल खेती गरांै भन्दै अन्य किसानलाई पनि सम्झाउँदै आएको छु,’ उनले भने, ‘त्यसैले अहिले ७ हजार किसान साथीले सुन्तला, जुनार, नस्पाती र स्याउको खेती गरिरहेका छन् ।’ ५ हजार किसान त प्रत्यक्ष सम्पर्क रहेको खेती प्रविधि, मल, बीउ र भण्डारको व्यवस्थापनको परार्मस समेत लिने गरेको उनले बताए ।

पाठक फलफूल खेती सुरु गर्नु अघि होटल गर्थे । दुई छोरा, एक छोरी र पत्नीको सहयोगमा होटल गर्दैआएका उनले होटल छोडेर खेती सुरु गरेका हुन् । पाठकले दैनिक ज्याला मजदुरी गरेर गरेको ६० रुपैयाँ आम्दानीले ०४८ सालबाट सल्लेमा होटल गर्न थालेको बताए । ‘नपढेकोले बैदेशिक रोजगारमा जान पनि सकिएन,’ पाठकले भने, ‘वैदेशिक रोजगारमा नगए पनि सदरमुकाम गाईघाटमा ज्यालामजदुरीका लागि झरे ।’ त्यहीं कमाएको ६० रुपैयाँले होटल र होटलका थोरै कमाइले फलफूल खेती र नर्सरी सुरु गरेको उनले बताए ।

स्रोत:डिल्लीराम खतिवडा, कान्तिपुर राष्ट्रिय दैनिक, श्रावण १०, २०७५
kantipurdaily.com/pradesh-1/2018/07/26/153257630283856269.html