भरतपुर : केराखेती गर्नकै लागि रजहरका यज्ञप्रसाद सुवेदी नवलपरासीबाट चितवन आए। भारतीय सेनामा कार्यरत बुवा जीवलाल सुवेदीले लाहुरे बनाउन खोजे पनि आमाको मायाले उनी भर्ती हुन मानेनन्। विवाहले व्यावहारिक बनाउँदै लगेको उनलाई सन्तान प्राप्तिपछि आम्दानीको विकल्प खोज्न बाध्य बनायो। अवकासपछि बुवाले केराखेती गरेको देखेपछि सुवेदीले पनि त्यसैमा हात हाले। २१ वर्षको उमेरमा १७ वर्षअघि दुई बिघाबाट सुरु गरेको उनको केराखेती अहिले ५५ बिघामा विस्तार भएको छ। २०५७ सालदेखि उनले केराखेती थालेका हुन्। खैरहनी, पदमपुर, ठिमुरा, जगतपुरमा उनले जग्गा भाडामा लिएर व्यावसायिक केराखेती गरेका छन्। भरतपुरमा बसेर उनले पूर्व र पश्चिम चितवनमा केराखेती गर्न भ्याएका छन्।

सुरुवातमा उनले श्रीमतीको गहना बेचेर व्यवसाय सुरु गरेका थिए। अहिले उनलाई पछाडि फर्केर हेर्नु परेको छैन। श्रीमती जानकी सुवेदीसँगै उनी केरा खेतीमा सक्रिय छन्। श्रीमान श्रीमती सँगै फर्ममा पुग्छन् सँगै फर्किंन्छन्। घरमा श्रीमतीसहित सन्तान पाल्न गाह्रो होला भनेर सुरु गरेको व्यावसायिक केराखेतीले उनको जीवनले कोल्टे फेर्‍यो। ‘काममा निरन्तरता दिए सफल भइँदो रैछ’, यज्ञप्रसादले भने, ‘अहिलेको स्थानमा बसेर फर्केर हेर्दा आफैं दंग परेको छु।’ गत साल उनले दुई करोडको कारोबार गरे। हावाहुरी र असिनापानीले क्षति पुर्‍याएका कारण कारोबार घट्ने अनुमान छ। १० वर्षमा ब्याज तिर्दैमा ठिक्क भयो। धेरै क्षेत्रमा लगाउँदा फाइदा भएको उनले बताए। १७ जना नियमित कामदार छन्। केराखेती गरेरै उनले गाडी चढ्ने भएका हुन्। उनले घडेरी र जग्गासमेत जोडेका छन्। उनले भरतपुरमा चितवन बनाना क्याफेसमेत सञ्चालन गरेका छन्। केराको बगानसहित केराका परिकार व्यवस्था गरेर उनले रेस्टुरेन्ट खोलेका हुन्।

आफू मात्रै होइन उनले अरुलाई पनि केराखेतीतर्फ लाग्न प्रोत्साहित गर्दै आएका छन्। व्यावसायिक रूपमा मालभोग केरा लगाउन सुरु गरेको उनले अहिले वार्षिक १५ लाख कमाउँछन्। ‘छिमेकीलाई केरा लगाउनुस् भात खाने चामल म दिन्छु भन्दा नमान्नेहरू आज आफैं केराखेतीमा रमाएका छन्’, उनले भने। केराखेतीबाट बलेरो गाडी किनेपछि मात्रै छोराले प्रगति गरेको भन्दै उनका बुवा खुसी भएका थिए। उनी चितवन केरा उत्पादक संघका पूर्व अध्यक्ष हुन्।

वैदेशिक रोजगारबाट फर्किंएका रत्ननगरका ३८ वर्षीय विष्णुहरी पन्तलाई केराखेतीले विदेश जाने मोह हटायो। पाँच वर्ष इजरायल बसेपछि उनी फर्कन चाहेनन्। आफ्नै दुई बिघा क्षेत्रफलबाट सुरु गरेका पन्तले अहिले ३५ बिघामा पुर्‍याएका छन्। केराखेती सुरु गरेको दुई वर्षमा उनले खासै आम्दानी लिन सकेनन्। हावाहुरीले केरा ढलाएपछि व्यवसाय नै छा्ेड्ने मनस्थितिमा पुगेका थिए। पछि बिमा नीति आएपछि हौसिए। केराखेतीको जोखिम न्यूनीकरण भएपछि उनले थप जग्गामा केराखेती लगाए। अहिले असिना र हावाहुरी नआए वार्षिक ४० लाख रुपैयाँ कमाउने उनले बताए। ‘विदेशको कामले मेहनत सिकायो’, उनले भने, ‘व्यवसायको गहिराईमा गए सफल भइन्छ।’

केराखेतीबाट मनग्गे आम्दानी गरेका पन्तले परिवार सजिलै पालेका छन्। उनले यस वर्ष नयाँ गाडी किने। केराले नै आफ्नो आर्थिक स्तर उकासिएको उनले बताए। उनले अहिले वार्षिक करिब डेढ करोडको कारोबार गर्छन्। उनले जिल्लामा उत्कृष्ट कृषकको रूपमा सम्मानसमेत पाएका थिए। अहिले पेशाले सन्तुष्टि दिएको उनको भनाइ छ। उनी चितवन केरा उत्पादक संघको निवर्तमान अध्यक्ष हुन्। आफ्नो कार्यकालमा देशभर केरा उत्पादक कृषकको संगठन विस्तार गर्न लागि परे। ‘नगदेवाली भएका कारणले अन्यभन्दा आम्दानी पनि बढी र खेती गर्न पनि सजिलो छ’, पन्तले भने, ‘बाँझो जग्गालाई उपयोग गरेर हरियाली बनाउने मेरो योजना छ।’ उनी केराखोती अवलोकनका लागि भारत र दक्षिण कोरिया पनि पुगे।

वैदेशिक रोजगारबाट फर्किंएका रत्ननगरका ३८ वर्षीय विष्णुहरी पन्तलाई केराखेतीले विदेश जाने मोह हटायो। पाँच वर्ष इजरायल बसाइपछि फर्किंएर दुई बिघाबाट सुरु गरेको उनको केराखेती अहिले ३५ बिघामा विस्तार भएको छ।

किसान परिवारबाट स्नातक उत्तीर्ण गरेपछि पनि जागिर नपाएर माडी नगरपालिका २ का घननाथ महतोले केरा फर्ममा काम गर्न थाले। पाँच वर्षसम्म जागिर गर्दा पनि छोराछोरी पढाउन र घर खर्च टार्न नसेपछि महतोले त्यसैका लागि केराखेतीमा लागे। एकातिर उत्पादनशील जग्गा बाँझो हुने अर्कोतर्फ युवा जमात विदेशिएको देखेपछि उनले स्वदेशमै केही आँट गरे। भारतबाट ट्रकका ट्रक केरा आयात भएको देखेर उनले व्यावसायिक केरा खेती सुरु गरे। त्यसपछि २०६५ सालमा पाँच बिघा जग्गा भाडामा लिएर उनले भरतपुर महानगरपालिका वडा नम्बर २३ जगतपुरमा विक्रम बाबा कृषि फार्म स्थापना गरे। त्यसलाई विस्तार गरेर उनले २३ बिघामा पुर्‍याए। उनको फार्ममा अहिले मालभोग र विलियम हाइब्रिड जातको केरा छ। ‘जति मेहनत गर्‍यो त्यति फाइदा हुने बाली हो ’, उनले भने, ‘यसले पूर्ण सन्तुष्टि दिएपछि मेरो जीवन फेरिएको छ।’

केरा खेतीबाट उनले प्रतिबिघा वार्षिक एक लाख २५ हजार बचत गरेको बताए। चितवन केरा उत्पादक संघका अध्यक्ष समेत रहेका महतोले बर्सेनि १० देखि १५ हजार केराको गानो बिक्रीबाट कमाउँछन्। विभिन्न मेला तथा महोत्सवमा उत्पादन प्रदर्शन गरेर पुरस्कृत भएका छन्। व्यावसायिक केराखेतीबाट उनले तीनजना छोरीहरूको पढाइ खर्च पुर्‍याएका छन्। त्यसैको आम्दानीले उनले भरतपुर महानगरपालिका वडा नम्बर ७ मा दुई कठ्ठा पाँच धुर जग्गा किनेका छन्। त्यसैबाट कमाएर घर जोडेका उनले आठ जनालाई रोजगारी दिएका छन्। आर्थिक स्थितिमा सुधार भएपछि सामाजिक काममा पनि अग्रसर हुन थालेका उनले जिल्ला कृषि विकास कार्यालयको ५० प्रतिशत अनुदानमा केराको बिरुवा उत्पादन गर्ने सेडहाउस समेत उनले निर्माण गरेका छन्। ‘केराखेतीको आम्दानीले म सन्तुष्ट छु’, घननाथले भने।

पदमपुरका जीवन चौधरीको जीवन पनि केराखेती बाटै फेरियो। उनी जिल्लामा सफल केरा उत्पादक कृषकको रूपमा चिनिन्छन्। आफ्नै दुई बिघा जग्गाबाट केराखेती सुरु गरेका उनले अहिले ३५ बिघामा पुर्‍याएका छन्। वार्षिक २५ लाख बचत भएको उनले बताए। पदमपुर, लंकालाइन र दिव्यनगरमा जग्गा भाडामा लिएर उनले केराखेती गर्दै आएका छन्।

चितवन राष्ट्रिय निकुञ्जभित्रको होटल गैडा वाइल्ड लाइफ क्याम्पमा १५ वर्ष काम गरेका पदमपुरकै बद्रि मि श्र अहिले केराखेतीमा सक्रिय छन्। होटल बन्द भएपछि उनको लागि विकल्प बन्यो केराखेती। ६ वर्षअघि सुरु गरेको उनको केराखेती अहिले १३ बिघामा विस्तार भएको छ। वार्षिक ४० लाखको कारोबार गर्छन् उनले। अहिले सन्तुष्टि भएको मि श्रले बताए।

द्वन्द्वकालमा गोरखाबाट विस्थापित भएका मेघनाथ भट्ट चितवन आएर केराखेतीमा लागे। गोरखा भीमसेनथान गाउँपालिका घर भएका मेघनाथले चितवन आए लगत्तै केराखेती सुरु गरे। वार्षिक ४० लाख कारोबार गर्ने उनले ५० प्रतिशत बचत गर्दै आएका छन्। केराखेतीबाटै उनले घरघडेरी जोडेका छन्। ११ वर्षदेखि केरा उत्पादनमा लागेका मेघनाथले सात बिघामा केराखेती गरेका छन्। ‘दुख गरेअनुसार सुख मिलेको छ’, उनले भने। उनले यज्ञप्रसाद सुवेदीसँग मिलेर बनाना क्याफे पनि सञ्चालन गरेका छन्।

केरालाई वातावरणमैत्री खेतीका रूपमा लिने गरिएको छ। चितवनमा २०५१ सालबाट व्यावसायिक केराखेतीको सुरु भएको व्यवसायी बताउँछन्। व्यावसायिक रूपमा केरा खेती गरेर मनग्गे आम्दानी गर्न सकिन्छ भनेर अम्बिकाप्रसाद अधिकारी पनि यसतर्फ लागे। उनले सुरु गरेको व्यवसायमा करिब साढे ६ सय कृषक अहिले संलग्न छन्। धार्मिक प्रयोजनमात्रै बुझेका अम्बिकाले व्यावसायिक रूपमा केराखेती सुरु गर्दा नेपालमा त्यसको सुरु भएको थिएन। कृषि कर्ममा रुचि राख्ने उनले बजारको सम्भावना बुझेपछि केराखेतीमा अघि बढे। ‘हरेक फलफूल पसलमा सधैं केरा देखिने हुनाले बजारको अड्कल गरेर केरा उत्पादनमा लागेँ’, उनले भने, ‘केराबाटै मेरो आर्थिक सुधार भएको हो।’।

उनले केराबाट भएको आम्दानीले नै घर बनाए भने घडेरी पनि जोडे। केराखेती गरेर गाडी किन्ने पहिलो कृषकमा पर्छन् उनी। उनले व्यावसायिक केराखेती सुरु गरेको दुई वर्षपछि मात्रै अरुले उनको सिको गर्दै खेती गर्न थालेका हुन्। सुरुवातमै १४ बिघा भाडामा लिएर खेती थालेका थिए। अहिले रामनगर, ठिमुरा र मेघौलीमा गरी १५ बिघामा केराखेती विस्तार भएको छ।

मुख्य समस्या हावाहुरी र असिना हो। गत आर्थिक वर्षमा जिल्लामा झन्डै एक अर्ब २५ करोडको कारोबार भयो। यस वर्ष असिना र हावाहुरीले क्षति गरेका कारण कारोबार घट्ने अनुमान गरिएको छ। त्यसमा पनि नेपाली केरालाई भारतीय केरासँग प्रतिस्पर्धा गर्न निकै गाह्रो छ। भारतले किसानलाई ९५ प्रतिशत र बाह्य मुलुक निर्यात गर्दा भाडामा अनुदान दिने गरेको छ। नेपाली किसानले अनुदान पाउन गाह्रो भएको गुनासो गर्छन्। उत्पादित केरा स्थानीय बजार नारायणगढ, काठमाडौं, पोखरा, बुटवल, बाग्लुङ, बेनी र तुल्सीपुरमा बिक्री हुने गरेको छ।

स्रोत: अनिल ढकाल, अन्नपूर्ण पोस्ट, ०९ असार २०७५
annapurnapost.com/news/101173