खोटाङ, गाउँमा रोजगारीको अवसर बढ्न थालेको छ । एक छाक टार्न पनि साहुको मुख ताक्नुपर्ने, ऋण नै खोज्नुपर्ने बाध्यताबाट मुक्ति दिलाउन छितापोखरीकै स्थानीय युवा युवराज तामाङले गाउँमै रोजगारी सिर्जना गरी आत्मनिर्भर बन्ने उपाय खोजे । उनले २० रोपनी जग्गा मासेर सतुवा, पाखनवेद, पदमचाल, चिराइतो, लोडसल्ला आदि जडीबुटीको खेती गरेका छन् ।

जडीबुटीबाट आम्दानी भएको पैसाले उनले गाउँघरमा पाइने मछिनो प्रशोधन गरी तेल निकाल्न दुई वटा मेसिन किने । त्यसपछि गाउँमा पहिलोपल्ट २०७१ असोजबाट मछिनो उद्योग दर्ता गरे । छितापोखरी लेकाली क्षेत्रअन्तर्गत पर्दछ । लेकाली क्षेत्र भएका कारण त्यस क्षेत्रमा ‘मछिनो’ भन्ने एक किसिमको झार प्रशस्त मात्रामा पाइन्छ ।

तामाङले आफ्नो गाउँ घरमा पाइने मछिनोलाई प्रशोधन गरी तेल निकालेर बेच्ने विचार गरी ‘मछिनो’ संकलन गर्न थाले । उनले गाउँघरमा भएको ‘मछिनो’ प्रतिकेजी ३ रुपैयाँ ५० पैसाका दरले किनी तेल निकालेर बेच्न थाले । आफ्नो बारीमा भएको

‘मछिनो’ प्रतिकेजी ३ रुपैयाँ ५० पैसाको दरमा बिक्री हुन थालेपछि गाउँका मान्छेले एक छाक टार्नका लागि साहुको मुख ताक्नुपर्ने अवस्था हटेको छ । जसले गर्दा उनको उद्योगमा

‘मछिनो’ लिएर आउनेको घुइँचो लाग्न थाल्यो । उनको उद्योगबाट गाउँकै पाँच जनाले रोजगारी पाए । ‘मछिनो’बाट उत्पादन भएको तेल प्रतिकेजी २ हजार ५ सयका दरले तामाङले राजधानीका विभिन्न डिपोमा बिक्री गर्न थाले

उनले सुरुमा पाँच जना कामदार राखेर सुरु गरेका थिए । अहिले नौ जना कामदार छन् । तामाङका अनुसार अहिले उनको उद्योगमा छिमेकी जिल्ला भोजपुरको सुनकोसी गाउँपालिका ९ कटुन्जेका १, खोटाङको खोटेहाङ गाउँपालिका ७ बड्कादियालेका ३, दिप्रुङ गाउँपालिका ५ छितापोखरीका १ र सोही गाउँपालिका ६

छितापोखरीका चार जनाले प्रत्यक्ष रूपमा रोजगारी पाइरहेका छन् । सुरुमा पाँच जना कामदारलाई दिएर ३० हजार प्रतिमहिना कमाइ गरेका तामाङको अहिले नौ जना कामदारलाई तलब दिएर प्रतिमहिना ४० देखि ५० हजारसम्म आर्जन गरेका छन् । उनले मछिनोबाहेक अन्य जडीबुटीबाट पनि मनग्य आम्दानी गरेका छन् ।

सतुवा, पाखनवेद, पदमचाल, चिराइतो आदिबाट वार्षिक एकदेखि दुई लाखसम्म कमाइ गर्ने गरेको उनी बताउँछन् । तामाङसँग माहुरीका १० वटा घार र बंगुर फार्म पनि छन् । उनले मह तथा बंगुरबाट पनि मनग्य आम्दानी गरेका छन् । पछिल्लो समय निजी जग्गा र स्थानीय सामुदायिक वनमा पर्याप्त रहेको ‘मछिनो’ कम हुँदै गएका कारण मछिनो उद्योग सञ्चालनमा केही समस्या हुने गरेको छ ।

सुरुसुरुमा निजी जग्गा र स्थानीय सामुदायिक वनमा पर्याप्त ‘मछिनो’ पाइन्थ्यो तर अहिले अलिक कम पाउन थालेको छ । जसले गर्दा उद्योग सञ्चालनमा केही समस्या भएको छ । उद्योगमा प्रतिदिन ५० देखि ६० जनाले मछिनो ल्याउने गरेका छन् । सुरुसुरुमा प्रतिकेजी ३ रुपैयाँ ५० पैसाको दरले किन्ने गरेको मछिनो उनले अहिले ७ रुपैयाँ प्रतिकेजीको दरले किन्ने गरेका छन् ।

एक लिटर मछिनोको तेल निकाल्न १ हजार २०० केजी मछिनो आवश्यक पर्छ । उनको उद्योगमा दैनिक २५ सयदेखि ३ हजार केजीसम्म मछिनो आउने गरेको छ । सुरुसुरुमा २५ सय प्रतिलिटरको दरले बिक्री हुने गरेको मछिनोको तेल अहिले ४ हजार प्रतिलिटरको दरले बिक्री हुने गरेको छ ।

मछिनोको तेल हार्डजोर्नी तथा नसासम्बन्धी समस्या भएकाका लागि उपयोगी मानिन्छ । उनको उद्योगमा खिरौले, दमार मझौ, बासथला, धिप्लुङ र छिमेकी साकेला गाउँपालिका ३ खिदीका मानिसले मछिनो ल्याउने गरका छन् । मछिनो बिक्री गरेर आफ्ना छोराछोरीको पढाइखर्च धान्ने गरेको स्थानीय मीनराज तामाङले बताए ।’

स्रोत: राजधानी राष्ट्रिय दैनिक, असार ३, २०७५
http://rajdhanidaily.com/2018/06/17/103867/