चुलाचुली (इलाम) – वैदेशिक रोजागारी क्रममा ८ वर्ष मलेसिया बसेका इलामको चुलाचुली–२ का पुष्प खजुम र सन्तु राईले गाउँ फर्केर केही उद्यम गर्ने सोच बनाए। तर, उनीहरूले गर्ने उद्यममा न कसैले लगानी सहयोग गर्ने भए, न कामदार नै पाइने भयो। तर, हरेस खाएनन्।

उनीहरूको उद्यम गर्ने सोचलाई काममा बदल्न साथ दिने भए गाउँकै अर्का युवक दीपक आचार्यले। आफूले विदेशमा सिकेको छाला जुत्ता बनाउने उद्योग खोज्न राजी भए तीनै युवा। गत मंसिर १४ मा उनीहरूले योजनाअनुसार छाला जुत्ता उद्योग त खोले तर गाउँकै लागि नयाँ भयो उनीहरूको काम। सुरुमा धेरै लगानी पनि चाहिएन। ‘बिस्तारै लगानी थप्दै गयौं, अहिले करिब १५ लाख रुपैयाँ लगानी पुगिसकेको छ,’ दीपकले भने, ‘लगानीअनुसार आम्दानी बढ्दै जाने देखेकाले निर्धक्क भएर काम गरिरहेका छौं।’

एक त जुत्ता उद्योग, त्यो पनि चुलाचुलीजस्तो गाउँमा सञ्चालन गर्न ठूलो ‘रिस्क’ मोल्नु हो यी युवाका लागि। तर, विदेशमा सिकेको सीप र अलि–अलि कमाएको रकम उनीहरू जुत्ता उद्योगमै लगानी गर्न दृढ थिए र गरे पनि त्यसै। उनीहरूले अञ्जली छाला जुत्ता उद्योग दर्ता नै गरेर सञ्चालन गरिरहेका छन्। तर, अहिलेसम्म कुनै पनि निकायले प्राविधिक र अन्य खालको सहयोग नगरेको दीपक बताउँछन्।

कुनैबेला आफैं रोजगारी नपाएर विदेशिन बाध्य उनीहरूले खोलेको उद्योगमा अहिले ५ जनाले रोजगारी पाएका छन्। ‘उद्योगको अप्पर डिपार्टमा काम गर्नेले प्रतिघन्टा ४० रुपैयाँ र लास्टिङ डिपार्टमा काम गर्नेले प्रतिघन्टा ६० रुपैयाँ पाउँछन्,’ उनले भने, ‘बिस्तारै उद्योगको आम्दानी बढ्दै गएको छ।’ उनीहरूले जुत्ताका लागि आवश्यक पर्ने कच्चा पदार्थ फाइबर, इभा, सोललगायतका सामान इटहरी, दमक, विराटनगरलगायतका बजारबाट ल्याउने गरेका छन्। ‘कच्चा पदार्थ चाहिँ सबै बाहिरबाट ल्याउनुपर्छ, गाउँको कुनैपनि कच्चा पदार्थ यहाँ प्रयोग गरिँदैन,’ दीपकले भने।

अहिले उनीहरूले उत्पादन गरेको जुत्ताको गाउँमा त माग छ नै, काठमाडौंदेखि माग आइरहेको छ। उनीहरूले उत्पादन गरेको जुत्ताको मुख्य बजार अहिले चितवन भएको छ। ‘तर, प्रहरीले ठाउँ–ठाउँमा चेकिङको नाममा दुःख दिने गरेको छ,’ उनले भने, ‘तोकिएको परिमाणभन्दा बढी जुत्ता गाडीमा छ भन्दै केही रकम दिए छुटाइदिने भन्छन् र रकम असुल्छन्,’ उनले भने, ‘सबैभन्दा टाउको दुखाइ चाहिँ यही भएको छ।’

दिनमा ३५ देखि ४० जोर जुत्ता उद्योगमा उत्पादन हुने गरेको छ। एक जोरलाई ३ सय ७५ देखि ९ सय ५० रुपैयाँसम्ममा बिक्री गर्ने गरेको उनले बताए। ‘फाइबरको जुत्ता चाहिँ ग्राहकले राम्रोसँग मनपराएका छन्,’ उनले भने। एक जोर जुत्ताबाट उद्योगलाई ५० रुपैयाँसम्म नाफा आउने गरेको छ। उनले आफूहरू पहिला काम नपाएर विदेश जानुपरेको र काम गर्न सके यहीं बसेर रोजगारीको अवसर सिर्जना गर्न सकिने बताए। ‘लगानी गर्ने केही रकम र जनशक्ति हुने हो भने गाउँमा जुनसुकै उद्योग पनि चल्छ,’ उनले भने, ‘तर, काम गर्ने इच्छा, तत्परता र सहयोगको खाँचो छ।’

स्रोत:भीम चापागाईं, नागरिक राष्ट्रिय दैनिक, २७ जेठ २०७५
http://nagariknews.nagariknetwork.com/content/about-us