प्यूठान — सरुमारानी गाउँपालिका १ बांगेसालका कुखुरा व्यवसायी दानबहादुर जीसीका दुईवटा पोल्ट्री फार्म छन् । करोडौंको लगानीमा सञ्चालित फार्ममा दर्जनौंले रोजगारी पाएका छन् । उनको मेहेनत र लगनशीलता देखेर स्थानीयले मिलेर सरुमारानी एग्रो फार्म प्रालि सञ्चालन गरेर लेयर्स जातका कुखुरा पाले ।

उक्त गाउँपालिकाका २५ जना मिलेर खोलेको फार्ममा अहिले ९ हजार कुखुरा खोरमा राखिएको छ । ४० हजार हुर्काउन मिल्ने भौतिक संरचना छ । कम्पनीले अस्थायी पशु चिकित्सकसमेत राखेको छ, यही कारण रोग फैलिएर कुखुरा मर्ने समस्या छैन ।

बांगेसालमा मात्र अहिले दैनिक १६ हजार अण्डा उत्पादन भइरहेको जीसीले बताए । ‘कुखुरा पाल्नका लागि बांगेसाल उपयुक्त छ,’ उनले भने, ‘लेयर्स र ब्रोइलरबाट किसानले आम्दानी गरिरहेका छन् ।’ विदेशबाट फर्केर धेरै युवा कुखुरा पालनमा लागेका छन् । त्यसले बांगेसालवासीलाई स्वरोजगार बनाएको उनले बताए । कुखुरा फार्म मानव बस्तीभन्दा टाढा रहेकाले रोगको संक्रमण छैन ।

बांगेसाल ‘पोल्ट्री हब’ का रूपमा चिनिन थालेको छ । एक दशकयतादेखि यहाँ ठूलो लगानीमा लेयर्स र ब्रोइलर कुखुरा फार्म खोल्ने किसान बढेका छन् र त्यो क्रम अझै रोकिएको छैन । ब्रोइलर कुखुरा र अण्डा लिन आउने पिकअप भ्यान बाक्लै देखिन्छन् ।

रोग लागेर किसानले नोक्सानी बेहोर्नु परेको छैन र सबैले राम्रो उन्नति गरेको गोविन्द केसीले बताए । यहाँका किसानले कुखुरालाई दाना बनाउने मिलसमेत सञ्चालनमा ल्याएका छन् । यसले कुखुरा पालनमा सहजता भएको छ । यहाँ उत्पादित अण्डा प्यूठान र रोल्पाका बजारका अतिरिक्त अर्घाखाँची, गुल्मी, दाङ र बुटवलसम्म पुग्छन् । गाउँपालिका मासु र अण्डामा आत्मनिर्भर बनेको छ । करोडांैको कुखुराजन्य उत्पादन जिल्लाबाट पठाउन थालेको गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले बताए ।

‘हामीले पनि किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएका छौं,’ उनले भने, ‘किसानसँग गाउँ सरकार कार्यक्रमले किसान हौसिएका छन् ।’ उक्त कार्यक्रममार्फत यसपालि ५० लाख रुपैयाँ अनुदान दिएको विश्वकर्माले बताए ।

धेरै किसानले लेयर्स कुखुरा पाल्न थालेपछि अण्डा राख्ने क्रेट उद्योगसमेत बांगेसालमै सञ्चालनमा आएको छ । पश्चिम क्षेत्रका कुखुरापालक व्यवसायीलाई लक्षित गरी नौ वर्षअघि खोलिएको यो उद्योगमा दैनिक आठ हजारभन्दा बढी अण्डा अट्ने क्रेट उत्पादन हुन्छ । एक करोड रुपैयाँको लागतमा उद्योग खोलिएको हो ।

बांगेसालमै मध्य तथा सुदूरपश्चिमकै पहिलो र ठूलो राप्ती फिड एन्ड ह्याचरी प्रालि छ । यसमा चल्ला उत्पादनका लागि १० हजार प्यारेन्ट जातका कुखुरा पालिएका छन् । २०६७ मा चार जनाको साझेदारीमा उद्योग सुरु भएको थियो । दैनिक १ हजार ५ सयदेखि ३ हजार ५ सयसम्म चल्ला उत्पादन हुने गरेको व्यवस्थापक धर्मराज भण्डारीले बताए । उनका अनुसार उद्योगका कारण दर्जनौंलाई रोजगारी मिलेको छ । सरुमारानी गाउँपालिकाले कुखुरापालक किसानलाई व्यावसायिक बनाउन नीति बनाउने तयारी गरेको छ ।

‘कुखुरापालक कृषकलाई सहकारीमार्फत अगाडि बढाउने योजना बनाएका छौं,’ सरुमारानी गाउँपालिका २ का वडाध्यक्ष वसन्त जीसीले भने, ‘दुई लाख रुपैयाँ विनियोजना गरी सहकारीको काम अगाडि बढाएका छौं ।’ किसान बिचौलियाबाट ठगिन नपरोस् भनेर सहकारीमा किसानलाई आबद्ध गर्न लागेको उनले बताए । कुखुरापालनमा बांगेसाल क्षेत्रका किसानले ३० करोडभन्दा बढीको लगानी गरिसकेको गाउँपालिकाको अनुमान छ ।

बांगेसाल क्षेत्रमा मात्र कम्तीमा ५० हजार कुखुरा पाल्न मिल्ने पूर्वाधार तयार भएको जिल्ला पशुसेवा कार्यालय प्रमुख डा. शरणकुमार पाण्डेले बताए । ‘जिल्ला अण्डा र कुखुराको मासुमा आत्मनिर्भर बनेको छ,’ पाण्डेले भने, ‘कुखराबाट धेरै जना स्वरोजगार बनेका छन् ।’

स्रोत:गिरुप्रसाद भण्डारी, कान्तिपुर राष्ट्रिय दैनिक, जेष्ठ २३, २०७५
www.kantipurdaily.com/pradesh-5/2018/06/06/152825832262824800.html