चन्द्रपुर ः बिहानै ६ बजे रौतहटको चन्द्रनिगाहपुर चोकमा ठेला ठेल्दै दैनिक एक व्यक्ति आउँछन् र बस बिसौनी नजिकै रोकिन्छन्। ठेलामा दुई दर्जन जती सिसा र स्टिलका गिलास छन्। ठूलो बाल्टिनमा पानी छ, अर्को बाल्टिनमा चनाको सातु। केही कागती, प्याजका दाना पनि ठेलामा छ। नुन, मसलाको स–साना बट्टा छन्।

हेर्दा सामान्य देखिए पनि उनको व्यापार भने ठूलो छ। एक बिहानमै उनले हजारभन्दा बढी कमाइ गरिसकेका हुन्छन्। थोरै लगानीमा पनि मेहनत गरे पैसा कमाउन सकिन्छ भन्ने उदाहरण हुन रौतहटको चन्द्रपुर नगरपालिका ४ स्थित चन्द्रनिगाहपुरका ५० वर्षीय अनिल कार्की।

मोरङको बयरवनबाट २० वर्षअघि हलो जोत्नका अल्छीले भागेर चन्द्रनिगाहपुर आएका अनिल कार्कीले ठेलामा चनाको सातु बेच्न थालेको १० वर्ष नाघेको छ। उनलाई कहिल्यै पनि सानो काम गरेछु भन्ने पछुतो छैन। होटलमा भात पकाउने काम गर्दा जीवन यत्तिकै बित्ने भो भन्ने चिन्ताले सताइरहन्थ्यो।

घरबाट भागेर आएपछि चन्द्रनिगाहपुरमा करिब १० वर्ष होटलमा खाना पकाउने काम गरे त्यस कामले उनलाई सन्तुष्ट दिएन। एक दिन होटलका ठूलो चुलो र ठुल्ठूला कसौडी, कराहीहरूसँग बिद्रोह गरे। होटलमा खान पकाउने काम छाडेर पुरानो ठेला किनेर चनाको सातु बेच्न थाले।

सातु बेच्न सुरु गर्नुअघि ऋण गरेर भए पनि विदेश गएर पैसा कमाउने सोच उनले नबनाएका हैनन्। तर सीप नभएको मान्छे विदेश गएर के गर्नु आफ्नै देशमा सानै भए पनि काम गर्ने सोच पलाएपछि विदेशमा गएर पैसा कमाउने सपना त्यत्तिकै हराएर गयो।

१० वर्षमा चन्द्रनिगाहपुर फेरियो, नयाँ नयाँ व्यापारिक पसलहरू खुले तर उनको ठेला फेरिएको छैन। त्यहीँ नफेरिएको ठेलाले उनको जीवन भने फेरिदिएको छ।

गरिबीका कारण पढ्न पाएनन् र पैसाको अभावमा अर्काको हलो जोत्दा हातका हत्केलामा ठेला मात्रै उठेनन्, भाग्य देखिने रेखा पनि बांगाटिंगा देखिन थाले। जीवनको ऊर्जाशील समय त्यसै जाने भो भन्ने पीरले एक दिन घरबाट उनी भागे। चन्द्रनिगाहपुरका रैथानेहरू बिहानै अनिल दाइको सातु पसलमा पुग्छन्। स्वाद अनुसारको सातु घोल्न लगाउँछन् र मुख मिठ्याउँदै बाटो लाग्छन्।

गर्मी मौसममा उनको ठेला वरिपरी चनाको सातु खानेहरूको भीड नै देखिन्छ। हरेक दिन बिहान उनलाई सातु घोलेर ग्राहकलाई दिन भ्याइनभ्याइ हुन्छ। सातु खान आउनेहरू आफ्ना स्वादअनुसार काँचो प्याज, कोही कागतीको रस, कोही मसला, कोही नुन मात्रै राख्न लगाउँछन्।

भीडमा लाइन बसेका ग्राहकलाई धेरै पटक सातु बनाएर खुवाएको अनिल दाइलाई सम्झना छ। ग्राहकको उमेर अनुसारको कुरा गर्न खप्पिस छन् उनी। कोही कसैले उनको व्यापारबारे सोधे भने खुलस्त बताउँछन्। चनाको सातु खानका लागि नेतादेखि कर्मचारी, व्यापारी तथा पूर्वपश्चिम राजमार्गमा आवतजावत गर्ने यात्रुहरू उनकै ठेलासम्म पुग्ने गर्छन्। एक दिन चोकमा ठेला नआएको भोलिपल्ट धेरैजना ग्राहकलाई उनले स्पष्टीकरण दिनुपर्छ।

हेर्दा सामान्य ठेलाको व्यापार जस्तो लागे पनि बिहान दुई हजारभन्दा बढीको सातु बिक्री हुने र त्यसमा आधाभन्दा बढी नाफा हुन्छ। दिउँसो नास्ताको व्यापारबाट राम्रै कमाइ भइरहेको छ। सातु पानीमा घोल्दै गरेका कार्कीले भने, ‘सन्तुष्ट छु, मेहनत गरेको छु। जीवनमा यति धेरै प्रगति हुन्छ भन्ने सपनामा पनि सोचेको थिइनँ।’ उनको बुझाइमा कमाएर मात्रै हुँदैन बचत गर्ने बानी पनि हुन पर्छ। साना लगानीले व्यापार गर्नेहरू बचत गर्नेतर्फ त्यति ध्यान नदिने उनको तर्क छ।

फजुल खर्च गर्नुभन्दा दैनिक बचत गर्न सके त्यहीँ पैसाले आपतविपतमा काम लाग्ने हुँदा थोरै पैसा लगाएर व्यापार गर्नेलाई बचत गर्न कार्कीको सुझाव छ। ‘जीवन नसोचेकै हुँदो रहेछ’, फिस्स हाँस्दै पूर्वेली लवजमा भने, ‘सातु बेचेर दुईतले घरको कौसीमा बसौंला भन्ने सोच्न बनाएको थिएन तर नसोचेको भयो।’

उनले तीन वर्षअघि चन्द्रनिगाहपुरको मुख्य चोक नजिकै दुईतले पक्की घर बनाएका छन्। उनको घरको मूल्य अहिले करिब एक करोड रुपैयाँ पर्छ। २० वर्षअघि खाली हात घरबाट भागेका कार्कीले घर घडेरी जोडे, गाउँमा एक बिघा खेतसमेत किनेको बताउँछन्। होटलमा खाना पकाउने काम गर्दा बचत गरेको आठ हजार रुपैयाँले पुरानो ठेला किनेर उनले सातु बेच्न सुरु गरेका थिए।

बिहान चनाको सातु बेचेर घर फर्किएपछि दिउँसो रोटी, भेज मःम, चाउमिन लगायत खाजा बेच्छन्। दैनिक उनले १० किलोसम्म चनाको सातु बेच्दै आएका छन। दिउँसो एक सयभन्दा बढीलाई खाजा खुवाउँछन्। पूर्वपश्चिम राजमार्ग नजिकै दुईतले पक्की घर छ। त्यो घरबाट ठेला ठेलेर बिहान निस्किँदै गर्दा ग्राहक आउदैनन् कि भन्ने पनि उनलाई कहिल्यै चिन्ता भएन।

१० वर्षअघि तीन रुपैयाँ गिलासमा सातु बिक्री हुन्थ्यो अहिले ३० रुपैयाँ पुगेको छ। रौतहटमा चनाको सातु पाइँदैन भारतको बैरगनिया बजारका व्यापारीले घरमै ल्याइदिन्छन्। एक पटकमा एक सय किलो सातु किन्छन् उनले। त्यो करिब एक हप्तालाई पुग्ने उनी बताउँछन्। ठेलाको व्यापारमा उनकी श्रीमतीले सघाउँछिन्। श्रीमान श्रीमती नै बिहानदेखि बेलुकासम्म व्यापारमा व्यस्त हुन्छन्।

दुईजना छोरामध्ये एउटाले १२ कक्षा उत्तीर्ण गरेका छन् भने अर्कोले १० कक्षाको परीक्षा दिएर बसेको छ। राम्रै विद्यालयमा पढाए। खर्च गरे अनुसार छोराहरूको पनि राम्रै पढाइ रहेको भन्दै उनले खुसी व्यक्त गरे। आफूले पढ्न नपाए पनि छोराहरूलाई पढाउन पाएकोमा उनलाई ठूलो सन्तुष्टि मिलेको छ। कार्कीले भने, ‘मासिक ५० हजारसम्म आम्दानी हुन्छ, दुईतले पक्की घर बनाएको छु।’ १० वर्षमा चन्द्रनिगाहपुरको रुप फेरियो, बजार ठूलो हुँदै गयो, नयाँ नयाँ व्यापारिक पसलहरू खुले तर उनको ठेला फेरिएको छैन। त्यहीँ नफेरिएको ठेलाले उनको परिवारको जीवन भने फेरिदिएको छ।

धेरै पटक ठेलाको टायर पन्चर भयो, ठेला बिग्रियो, ठेलाको टिनको छाना हावाहुरीले उडायो तर अनिल दाइको मेहनत पन्चर भएन, पाखुराले बि श्राम मागेन र सपनाहरू खुइँलिएनन्। हातगोडा चल्न सकुन्जेल ठेलासँगै ठेलिने उनको सोच छ। सीप नभएर बेरोजगार भएकालाई काम गर्नु पर्छ भन्ने हौसला दिनु पर्छ भन्ने पनि उनीभित्र छ।

उनलाई बन्द हड्तालले कहिले काही सताउँछ। बन्द भएको दिन आफूले त जोगाएर राखेको पैसाले खाउँला दैनिक कमाएर खानुपर्नेको अवस्था दयनीय हुने उनको बुझाइ छ। ‘सामान्य मानिसले गरेर खान सक्ने वातावरण बनाउन सरकारले ध्यान दिने हो भने लाखौं खर्च गरेर जोखिम र तल्लोस्तरको काम गर्न युवा विदेश जान बाध्य हुने थिएनन् कि ? ’ उनलाई मनमा परिरहन्छ।

सानो पुँजी लगाएर मेहनत गर्नेलाई सम्मान र माया गर्नेको संख्या थोरै छ। तर ठेलाको व्यापारले भएको प्रगति सुनाउँदा भने मानिसहरू अचम्ममा पर्ने गरेको उनको अनुभव छ। लाखौं खर्च गरेर सीप नभएका मान्छे विदेश जान्छन्, उनलाई पनि जान मन लागेको थियो तर सातु बिक्री गर्न थालेपछि त्यो विदेश जाने सोच हरायो।

सकभर सीप नभएका मान्छे विदेश नगएको राम्रो, आफ्नो देशमा मेहनतका साथ काम गर्नुपर्ने कार्कीको सल्लाह छ। तराई मधेसका जिल्लामा गर्मी मौसम सुरु भएपछि चनाको सातुका पारखीहरू बढी देखिन्छन्। रौतहटको गौर, गरुडा, चन्द्रनिगाहपुर बजार क्षेत्रमा गर्मी सुरु भएपछि ठेलामा चनाको सातु बिक्री गर्ने अरु व्यापारी पनि छन् तर उनीहरूको व्यापारमा निरन्तरता कम छ।

स्रोत: अन्नपूर्ण पोस्ट, ०५ जेठ २०७५
annapurnapost.com/news/98345