दिपेन्द्र श्रेष्ठ/सफल समाचार
आम बेरोजगारको समस्याको चपेटामा महालक्ष्मी नं. पा. ८ निवासी जगत कुमार खत्री पनि परेका थिए । साथीभाइ माझ गफ गाफ गर्ने तथा घुमघाम गर्दै समय बिताउने दिनचर्या नै बनेको थियो जगत कुमार खत्रीको । बिदेशिन कोसिस नगरेका पनि होइनन् उनले । ३ कक्षा सम्म पढेका जगत छिमेकी मुलुक भारत सम्म पनि पुगे, तर केहि उपलब्धी भएन । उनलाई खाडी मुलुक जान मन भयो तर पढाइ र आर्थिक अभावको कारण जान सकेनन् । फलस्वरुप साथीभाइ माझ गफ गाफ तथा गर्ने तथा घुमघाम गर्दै समय बिताउनु भन्दा बढी केहि उपलब्धी भएन ।

02

एवंरितले दिनहरु बित्दै गए । एकदिन जगेदाइको एकजना काठमाण्डौ तिरका महाजन संग भेट भयो । ति महाजन जग्गा खरिद गर्नका लागि डुल्दै हिंडेका थिए । उनैको अर्ती उपदेशबाट प्रेरित भएर केहि आय आर्जन गर्ने जमर्को कसे उनले । सानो खाजा पसल खोले, जसमा चिया खाजा पाक्दथ्यो । जगत दाइकै भाषा शब्दमा भन्नुपर्दा — “आधा पाउ चिनी अलिकति चियापत्ति, जसबाट २–४ कप चिया तथा २–४ जनालाई चना चिउरा तरकारी पुग्नेगरी तयार गरेर बेच्न सुरु गरे । ” सहपाठी तथा गाउँलेहरुले खिस्याए पनि, महाजनले भने पटक पटकको भेटमा झनै हौसला प्रदान गर्ने काम गरे । पुख्र्यौली सम्पतिको नाममा भएको जग्गामा एकदमै सानो छाप्रोमा करिब ४–५ हजार रुपियाँ (छाप्रो सहित) बाट सुरु गरेको जगेदाइको भान्छा यो ५ बर्षको दौरानमा ३० देखि ४० जनालाई एकैपटक खाजाको सुविधा दिन सक्ने भइसकेको छ ।

प्रफुल्ल मुद्रामा बोल्दै उनी अघि भन्छन – “लगातार मिहेनतको कारण आज म सफल भएको महसुस गरेको छु ।” हुनपनि किन नहोस् उनी चुल्हो देखि सफाइ तथा अन्य व्यवस्थापकीय कामहरु सबै आफै हेर्दा रहेछन् । एक दुई जनालाई रोजगारी पनि दिएका रहेछन् र उनीहरुप्रति उनी परिणाममुखी कामको आशा राख्दा रहेछन् ।

लुभु शंखदेवी मन्दिरबाट अलिक माथि पहाडकै काँठमा अवस्थित जगेदाइको भान्छा निकै रमणीय वातावरणमा छ, जहाँबाट उपत्यकाको सबै क्षेत्र सजिलै नियाल्न सकिन्छ, साथै माथितिर पुर्वमा कोटडांडा दक्षिण पुर्वमा बिसंखुनारायण जस्तो प्रख्यात धार्मिक तथा पर्यटकीय स्थल पनि नजिकमा पर्दछ । यसको बावजुद नम्र मिजासका जगेदाइको हातबाट बनेका परिकारहरुको स्वाद एकपटक चाखिसकेपछि कुनैपनि ब्यक्ति पटक पटक फर्कने गरेको उनी बताउँछन् । सबै तरकारी तथा तुलफुल लोकल तरिकाले नै उत्पादन गर्ने भएकोले होला जे खांदा पनि नमिठो भन्ने नै हुदैन् । अनि अर्डर अनुसारको कुनैपनि परिकार बनाइदिने भएकोले पनि होला जगेदाइको भान्छामा खाना खानको लागि पहिले नै खबर गर्नु पर्ने हुन्छ ।

छाप्रोबाट सुरु गरेका उनले अहिले नयाँ भवन निर्माण गरिसकेका छन् । करिब ५०–६० लाख खर्चिएर तयार गरेका उनले अझै केहि संरचनामा थप गर्ने तथा नयाँ संरचना बनाउने योजना रहेको बताउँछन् । सफा सुघ्गरमा बढि ध्यान जगे दाइ ग्राहकको रुचि अनुसारको संरचनामा पनि ध्यान दिन्छन् । मिठो तथा स्वादिलो परिकार पाक्ने जगे दाइको भान्छामा शहरका भद्रभलाद्मीहरुको जमघट धेरै हुदोंरहेछ तथा छिमेकी मुलुक चीन अनि भारत देखि पनि ग्रुपहरुले (जमातहरु) अग्रिम बुकिङ्ग गर्दा रहेछन् ।

एकोहोरो मेहेनतको बावजुद आज यो अवस्था सम्म आईपुगेको कुरा गर्वका साथ प्रस्तुत गर्दै आगामी दिनमा यसलाई अझै ब्यवस्थित गर्दै लैजाने तथा बास बस्नको लागि पनि ब्यवस्था उनको मनसाय छ ।

विगतको दुःखलाई सम्झदै उनी अघि भन्छन् – “अहिले मलाई कसैसंग हात फैलाउन पर्दैन । आफूलाई मन लागेको काम गर्न सकिरहेको छु ।” उनी अघि भन्छन् – “विदेशमा गर्नेजति यही नै केही गर््यो भने मनग्गे आम्दानी गर्न सकिने, दिगो पनि हुने तथा भविष्यमा भावी संततीलाई पनि सजिलो हुने कुरा अहिलेका युवा पिडीलाई सल्लाहा दिन चाहान्छन् ।